Thursday, May 29, 2008

पवित्र वाग्मतीको दुर्दशा

हिजो जस्तो लाग्दछ SLC को परिक्षा सकेर काठमाण्डौंमा कलेज पढ्न आएको । २०३७ साल त हो नि । जैसिदेवलको कुनामा डेरा थियो । धारामा पानी अत्यन्त कम आउने (हुनत अहिलेको अवस्था पो कुन गतिलो छ र ?) । संधै पानी थाप्न आ‍ेमवहाल पुग्नुपर्ने । नुहाइ धुवाइ गर्न त संधै भरी पचली टेकुको वाग्मती किनार अथवा पारीको राजतिर्थ ।
आजका पिंढीहरुलाई हामीले वाग्मतीको पानीमा नुहाएको कुरा गर्दा लोक कथा नै
हुन्छ । विचराहरुलाई के थाहा वाग्मतीमा पनि पानी वग्थ्यो भनेर ? अहिलेको अवस्थाको वाग्मतीका तस्विरहरु हेर्दा नै हाम्रो कुरा कसैले पनि हो भनेर पत्त्याउंदैन । (यि तस्विरहरु आज कीर्तिपुर सुन्दरीघाटको झोलुङ्गे पुल वाट लिइएको हो ।)
वाग्मतीलाई यस्तो अवस्थामा पुर्‌याएको त हामीले नै त हो नि । संग्लो कलकल वग्ने पानीमा आज ढलमात्र वगेको देख्न पाइन्छ । वल्छी थापेर माछा मार्ने ठाउंमा आज गुहे किरा समेत वस्दैन । उपत्यकाको सभ्यताको मुहान वाग्मतीको यस्तो अवस्थाले यस सभ्यतामा हुर्के वढेका कसको चित्त कटक्क हुदैन र ?
अवका दिनमा यसलाई पुरानै वाग्मती कसरी वनाउन सकिन्छ ? यस वारेमा अत्यन्त छिटो हामी सवैले ध्यान पुर्‌याउनु पर्दछ । हुतराम वैद्यहरुको होस्टेमा हैसे गर्ने वेला भएको छैन र ? वाग्मती सुधार आयोगलाई कर्मचारी भर्तीकेन्द्र मात्र हुनवाट मुक्त गर्ने वेला भएको छैन र ?

गणतन्त्र नेपाल जिन्दावाद

आज देश गणतन्त्रमय भएको छ । आम नेपालीले विगत ६० वर्ष देखि प्रजातन्त्रको नाममा भोग्दै आएको एकतन्त्री शासनलाई आज विदाई गरिएको छ ।
गणतन्त्रको खुशियाली मनाउंदै गर्दा पनि मलाई भित्री मनमा सारै रमाईलो भने लागेको छैन ।राजतन्त्रलाई विदाई गर्नु अत्यावश्यक थियो ।तर गणतन्त्र घोषणा गर्ने नेताहरु यस प्रति कत्तीको संवेदनशिल छन् त्यसले आगामी दिनको दिशानिर्देश गर्दछ । विगत वर्षहरुको यिनीहरुको कृयाकलाप हेर्ने हो भने देश प्रतिभन्दा आफ्ना कार्यकर्ता र आसेपासेलाई पोस्ने भन्दा अन्य तिर आंखा लगाएको पाईएको छैन ।नाराहिटी दरवारवाट राजालाई विदाई गरेपछि फेरी अर्को राजा खडा हुने हो कि ? आ-आफ्नो स्वार्थको लागि राष्ट्र राष्ट्रियताको च्यांखे थाप्न तर्फ पार्टीहरु लाग्ने पो हुन् कि ? संधै भरी जनताले खवरदारी गरिरहनु पर्ने हो भने लोकतन्त्रको खाश अनुभुती कहिले हुने ।देशले उन्नती र प्रगती तर्फको आफ्नो दह्रो पाइला कहिले चाल्ने ?
नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य वनाईएको छ ।यो नेपालीलाई एक सुत्रमा वाध्ने महत्वपूर्ण वीधि हो ।राष्ट्रको एकिकरण धेरै पहिले भएको भएतापनि नेपाली नेपाली विचको आत्मिय भावनात्मक एकिकरण नभएको आजको अवस्थामा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य अनिवार्य थियो ,तर संघियताको नाममा नेपाली नेपालीलाई फुटाएर एक आपसमा संधै भरी लडाएर शासन गर्न खोज्ने अवस्था आउन नदिनकोलागि भने हामी सवै स्वाभिमानी नेपालीहरुले सजग हुनुपर्ने भएको छ ।
संघिय लोकतान्त्रिक गणराज्यको सफलताको शुभकामना !

Wednesday, May 28, 2008

हामी

हामीलाई कसले सम्झाउने ख्वै ? कहाँ वाट हामीले सिक्ने ख्वै ? वाटो घाटो जता पनि अस्तव्यस्त । साँगुरा सडक छन् , मोटर र मोटर साईकलका ताँतीले भाउन्न नै होला जस्तो हुन्छ । सरकारमा वस्नेहरु किन यसरी स्वार्थले भरीएका होलान् ।झन् राजनीति गर्नेहरुको त कुरा नै नगरे हुने भयो - संधै भरीको आपसी खिचातानीले उनीहरु आफ्नै डम्फु बजाउन व्यस्त छन् ।उनीहरुलाई जनता जनार्दनको के चासो ?
देशमा ईन्धन छैन , मोटर र मोटर साईकल भित्र्याउन कसले बन्देज लगाउन सकेको छ र ? छिमेकी मुलुकहरुको एक किसीमको डम्पीङ्ग साईट नै जस्तो भै सकेको देश । छिमेकी मुलुकहरु पनि कस्तो भने मोटर र मोटर साईकल भने जती पठाउन सक्ने तर ईन्धन पठाउनलाई उसको वावु विते जस्तो , यो त हलो अड्काएर गोरु चुट्ने काईदा भएन र ?
ईन्धनको लाईनमा दिनभरी वस्दा ५देखि १० लिटर प्राप्त हुन्छ । यसले कती दिन पुर्‍याउने ।महिनामा कति दिन यसरी लाईन बसेर साध्य चलाउने हो ।
वाटो सडकमा एक छिन केही हुनुहुन्न मोटर र मोटर साईकलका ताँती लाग्न थाली हाल्छन् ।टांटां र टिंटिं भाउन्न होला जस्तो । मोटर साईकल चलाउने लाई त झन् के के न विते जस्तो , हुत्तिएका छन् । भिड माथी भिड । अनि त के चाहियो र ? दुई मिनेटको सडक पार गर्न वीस मिनेट ।
यसो हेर्दा सवारी साधनवालाहरु पढेलेखेका जस्ता देखिन्छन् तर खै यिनले कस्तो शिक्षा पाएका हुन् ? किताबमा त सडकमा आफ्नो लेन अनुशासन कायम गर्नु पर्ने नै कुरा लेखिए जस्तो लाग्छ ।हुनत नेपालको परिस्थितीमा कितावका कुराहरु पास गरेर डिग्री लिनु सम्म मात्र कायम देखिएको छ , नत्र किन पढेको कुरा व्यवहारमा आउन नसककेको त ?
वीस जना अट्ने माईक्रोबस भित्र चालीस जना यात्रु खांदीएका हुन्छन् ।गाडी वालालाई पनि के दोष । चढ्ने मानिस चढिदिए पछी ,उसलाई त कमाउनु न हो । यात्रु नचढ्ने हो भने के तिनीहरुले तानेर त वसमा चढाउदैनन् नि। यात्रुहरु पनि पहिला वसमा चढ्छन् अनि धेरै यात्रु चढाएकोमा गुनासो गर्न सुरु गर्दछन्।
हामी कहां चुकेका छौं । नीति निर्माण गर्ने तहमा कि , कार्यान्वयन तहमा ? विद्यालय वा महाविद्यालय वा विश्वविद्यालयको पाठ्क्रम निर्माण गर्ने तहमा कि , यसको अध्ययन अध्यापन गर्ने तहमा ? यसको जवाफ कतावाट पाउने ?