Friday, August 13, 2010

किन?

किन संधै निराशा मात्र मनमा गुंञ्जिरहन्छ ?
भर्खरै एउटा चिनियां भनार्इ पढेको थिंए – पहाडलार्इ समथर पर्नु छ भने पहिले एउटा ढुंगा उठाउन थाल्नु पर्दछ ।
हिजो सम्म केही गर्न नसकेपनि अब त केही गर्नु नै परेको छ ।
४८ बर्षको उमेरमा जागिरबाट अवकास लिनु पर्ने नै भएको छ ।
आज सम्म जुन मस्तीले कामकाज गरियो अव त त्यो संम्भव नहुने दिनहरू आउंदै गरेको देखिएको छ ।
बल्ल बल्ल स्नातक गरेको त्यो पनि २० बर्ष भै सकेको छ । स्नातकोत्तर पटक्कै गर्न सकेको होर्इन ।
अर्थशास्त्रमा बि.ए. गरेकोमा बिषय परिवर्तन गर्ने धुनमा व्यवस्थापन तर्फ लागियो । त्यसै समयमा काठमाण्डौं बाट जागिर नारायणघाट सरूवा भयो । बल्लबल्ल व्यवस्थापनको भाषा सिक्दै गरेको समयमा सरूवा भए पछि त के लाग्यो र ?
फेरि प्रथम पटक घर छाडेर बाहिर हिंडेको मान्छे । घरको संझनाले नै सतार्इ रहने । यता भर्खर ५ बर्ष पुगेकी छोरी उ त संधै ड्याडीको रटमा बसिरहने । अनि त के चाहियो ? साथी संगी पनि उस्तै,मस्त मदिराको नशा नै उत्कृष्ट ।
२ बर्ष नारायणघाट बसेर नुवाकोट सरूवा भए पछि मात्र अन्य बिषयको वारेमा सोच्न सक्ने भइयो । त्यसमा पनि अत्यन्त मिलनसार,सहयोगी र आत्मिय मित्र,हाकिम जे भने पनि हुने श्री विश्वहरि जोशीको सहकार्यको कारण नै प्रमुख बनेको छ ।
त्यस पछि पटक पटक अर्थशास्त्र, नेपाली , समाजशास्त्र आदि बिषयमा स्नातकोत्तर गर्ने प्रयाश नगरेको त होर्इन तर किन हो कुन्नी यसमा सफल हुन सकिएन ।
यस पछिको अवधीमा खाशै अध्ययन गरिएन । कार्यालयको कामको लागि नै मरिमेट्ने काम भयो ।
आजकल त अंग्रेजी ,नेपाली सवै भाषाको भण्डार नै रित्तीए जस्तो लाग्न थालेको छ ।
केही समय अगाडी छोरीले द अल्कमिस्ट पुस्तक दिएकी थिर्इ— बडो गारो संग पढेर सिध्याएं । बास्तवमा नै अत्यन्त उत्कृष्ट पुस्तक रहेछ ।
अहिले ह्वार्इट टार्इगर पढ्ने कोशिस गरिरहेको छु । भाषा सरल भएतापनि मलार्इ निकै कठिन भै रहेको छ । तर भारतिय बिषयबस्तु भएकाले नेपाल संग पनि उत्तिकै मिल्दोजुल्दो अनुभव भएको छ ।
यस अवस्थामा मैले आगामी मेरा दिनहरू कसरी अगाडी बढाउने हो ? अत्यन्त असमन्ज्स्यमा परेको छु ।

No comments: